Recent News / Updates

४१ वर्ष देखिको विवाद समाधान,अभियान्तालाई सम्मान

४१ वर्ष देखिको विवाद समाधान,अभियान्तालाई सम्मान

४१ वर्ष देखिको विवाद समाधान,अभियान्तालाई सम्मान

झापाको शरणामती–४ का बासिन्दा आइतबार खुशी देखिए । शरणामती–४ स्थित रानी सामुदायिक वन उपभोक्ता समूहको ४१ वर्ष अघिदेखिको सुकुम्बासी उपभोक्ता र वन समूहबीचको सीमाना विवाद आइतबार समाधान भएपछि उनीहरु खुशी भएका हुन् ।

२०७० सालमा स्थापना भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले दुबै समूहबीच पाँच बुँदे सहमति गराई विवाद समाधान गरेको हो । २०३२ सालदेखि वन क्षेत्रभित्रको केही भाग भोगचलन गर्दै आएका किसान र वन उपभोक्ता समूहबीचको विवाद पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै आइतबार समाधान भएको हो ।
४१ वर्षदेखि रहेको विवाद समाधान प्रक्रियामा सहजीकरण गरेको भन्दै वन उपभोक्ता समिति, त्यस क्षेत्रका स्थानीयवासी, गाविस सचिव र जिल्ला वन कार्यालय झापाले चारजनालाई सम्मान समेत गरेका थिए । सम्मानित हुनेहरुमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापा, सहजकर्ता मानबहादुर कार्की, हिमा मगर, नारायणकुमार पौडेल रहेका छन् ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले माकुरा समूह गठन गरी १८ महिनाको मेहनतले दुई समूहबीच सहमति भएको गराउन सफल भएको बताइएको छ । एक सय छ हेक्टर क्षेत्रफलमा फैलिएको सो वन क्षेत्रभित्र लामो समयदेखि बसोबास गर्दै आएका २८ घरधुरी सुकुम्बासी र वन उपभोक्ता समूहबीच सीमा विवादको विषयमा निकास हुन सकेको थिएन ।
दुबै समूहबीच आइतबार भएको सहमति पत्रमा वन क्षेत्रभित्र बसोबास गर्दै आएका भूमिहीन किसानलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाउने, भूमिहीन किसानलाई स्थानान्तरण भई सामुदायिक वनले तोकेको स्थानमा जाँदा भौतिक निमार्णमा मापदण्ड तोकी घर निमार्णका लागि केही सहयोेग गर्ने, बस्ती बसोबासका लागि प्रस्तावित स्थानमा पूर्व–पश्चिमको बाटो खोली त्यसलाई ग्राभेल गर्न पहलकदमी गर्ने, सहमति भई सम्झौता भएका बुँदाहरु २०७४ साल वैशाखभित्रमा कार्यान्वयन गर्ने लगायतका विषय उल्लेख छन् ।
सहमति भएपछि आयोजित कार्यक्रममा दुबै समूहका पदाधिकारीहरुलाई जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज सुबेदीले फूलमाला र अविर लगाएर धन्यवाद दिएका थिए । उनले सहमति कार्यान्वयन गर्न सहयोग गर्नेसमेत बताए ।
वन समितिका अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोतब्यक्ति संगीता थापा, सामुदायिक वन जिल्ला महासंघका झापा जिल्ला अध्यक्ष वेदप्रकाश भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघ झापाका पूर्व अध्यक्ष छत्र पौडेल, दहीझोडा रेफो महासंघका दधिराज पोखरेल, सेक्टर वन कार्यालय सुरुङ्गाका ओमनाथ भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन माकुरा समूहका सदस्य केशव बजगाईंले गरेका थिए ।

Source: http://aamsanchar.com/news/2016/11/23/14451.html#undefined.gbpl